म्याग्दी : बाढीपहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

म्याग्दी। पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ।

धवलागिरि गाउँपालिका-६, मराङ, मालिका गाउँपालिका-७ बिम र बेनी नगरपालिका-२ बगरफाँटमा पहिराेले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या देखिएको हो।

गत असार २६ गते बिहान आएको पहिराले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्याङ्की, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको छ।

पहिराेले वस्तीभित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहानसमेत पहिराेले पुरेकाले शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडितको भनाइ छ।

पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएपछि सबैले घर बाहिर आकाशे पानीका लागि गाग्री थाप्नु परेको छ। पहिराेले वस्ती नजिकै रहेका पानीको मुहान, पाइपमा क्षति पुगेको अवस्थामा तत्काल नयाँ योजनासहित मर्मत गर्नुपर्ने वडा सदस्य तिलकुमारी केसीले बताइन्।

घरघरमा रहेका पानीका धारामा पानी आउन छोडेपछि सरसफाइ, लुगा धुनसमेत समस्या भएको स्थानीयको भनाइ छ।

वडाभित्र करिब १७ हजार जनस‌ंख्या रहेकामा २१ घर पहिराले पुरिदिएको छ भने २०२ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जीवन बिताइरहेका छन्।

करिब ४०० घरधुरी छ।

पहिराेले मराङका विभिन्न वस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने दुईजना बेपत्ता छन्।

यता मालिका गाउँपालिका-७ बिममा समेत पहिराले दुई करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ। रासस

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्