खेलकुद मन्त्री विश्वकर्माले गरे राखेप बोर्डमा ६ सदस्य मनोनीत

काठमाडाैं। युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्डमा ६ सदस्य मनोनीत गरेका छन्।

राखेपका उपाध्यक्ष र सदस्यसचिवलाई शपथ खुवाएको भोलिपल्ट मन्त्री विश्वकर्माले विभिन्‍न क्षेत्रबाट प्रतिनिधित्व हुनेगरी ६ जनालाई बोर्ड सदस्यमा मनोनयन गरेको मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय खेलकुद विकास ऐन – २०७७ अन्तर्गत राखेपको अध्यक्षमा भने मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ।

मन्त्री विश्वकर्माले खेल विज्ञ, खेलकुद प्रशिक्षक, खेलकूद प्राविधिक वा एन्टी डोपिङ विज्ञका रुपमा राखेपका पूर्वअधिकृतसमेत रहेका चितवनका रिम रानाभाट र ओखलढुङ्गाका इन्दिरा निरौलालाई मनोनयन गरेका छन्। निरौला यसअघि पनि राखेप सदस्य रहेकी थिइन्।

मन्त्री विश्वकर्माले राष्ट्रिय खेल सङ्घको सिफारिसबाट काठमाडाै‌का अर्जुन केसी, बागलुङका सम्पन्न श्रेष्ठ र चितवनका सुवास श्रेष्ठलाई पनि मनोनयन गरेका छन्। मन्त्री विश्वकर्माले परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधिका रुपमा नुवाकोटका गोविन्द्रप्रसाद भट्टराईलाई मनोनयन गरे।

मन्त्रिपरिषद्‍ले यसअघि नै राखेप उपाध्यक्षमा शिव कोइराला र सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गरेको थियो। उनीहरुले बुधबार पदभार ग्रहण गरेका थिए।

रासस

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्