विवेकशीलले ल्यायाे नयाँ नीतिगत दस्तावेज

तस्विर श्राेतः इन्टरनेट

काठमाडाैं । विवेकशील नेपाली दलले आफ्नो नयाँ राजनैतिक दस्तावेज सार्वजनिक गरेको छ । मंगलबार साँझ जुम अनलाइन मिटिङ तथा फेसबुक लाइभ मार्फत दलका अध्यक्ष मिलन पाण्डेले दस्तावेज सार्जनिक भएकाे बताएका हुन् । सामाजिक सञ्जाल लगायत जनजिब्राेमा विवेकशील नेपाली र साझा विवेकशील बिच पुनः एकिकरणबारे टिकाटिप्पणी चल्दै गर्दा विवेशीलले नीतिगत दस्तावेज प्रस्तुत गरेकाे छ ।

विवेकशील नेपालीले दललाई “आम नागरीककाे दल”काे रूपमा प्रस्तुत गरेकाे छ । दस्तावेजमा उल्लेख छ; विवेकशील नेपालीकाे राजनैतिक एजेण्डा नेपाली सपना हुनेछ । त्यस्तै, दलले सहभागितामूलक लोकतन्त्र मार्फत लोकिहतकारी नीति अबलम्बन गर्ने प्रतिबद्धता जनाएकाे दलकाे दस्तावेजमा उल्लेख छ ।

विवेकशीलकाे दस्तावेजमा उल्लेख गरिए अनुसार पुराना दलभन्दा आफूलाई भिन्न राख्ने पद्धति, पारदर्शीता, निष्ठा, साहस, समावेसी उत्कृष्टता र समानुभूति गरी ६ खम्बालाई दल निर्माणकाे आधार मानेकाे छ । दस्तावेज सार्वजनिक कार्यक्रमकाे फेसबुक लाइभमा बाेल्दै सहभागितामुलक लाेकतन्त्र र नेपाली सपना विवेकशील नेपाली दल निर्माणकाे मुलमन्त्र भएकाे नीति सचिव सञ्जिव भट्टराईले जिकीर गरे । कार्यगत एकता त संगठनकाे सुरूवातदेखि नै थियाे । अब दलकाे नीति तथा दस्ताबेज बनिसकेकाे हुनाले दल अझै शशक्त बनेकाे छ, अध्यक्ष पाण्डेले भने ।

दस्तावेजका मुख्य बुँदाहरु:

– विवेकशील नेपाली दल- पद्धति, पारदर्शिता, निष्ठा, साहस, समावेशी उत्कृष्टता, समानुभूति मूल्यमान्यतामा अडिग रहनेछ। नेतृत्व र सङ्गठनले यी मूल्यमान्यतालाई आफ्नो जीवन र व्यवहारमा उतार्ने छन्।

– दलको दस्ताबेजमा परिवर्तनको र सम्वृद्धिको संवाहक ‘नागरिक’लाई मानिएको छ। नागरिक, समाज, नेतृत्व, सरकार र राज्यलाई रुपान्तरणको आधारका रुपमा स्पष्ट व्याख्या गरिएको छ।

– सबै नेपाली अटाउने ‘गतिशील लोकतान्त्रिक बहुलवाद’ विवेकशील नेपाली दलको दर्शन हुनेछ।

– विवेकशील नेपाली दलको ४ खम्बे सिद्धान्त रहनेछ- सहभागितामुलक लोकतन्त्र, गतिशील मध्य-मार्ग, सामाजिक न्याय र दिगो-आत्मनिर्भर अर्थतन्त्र

– विवेकशील नेपाली दल इतिहासमा राज्य र तत्कालीन शासकहरुद्वारा गरिएका सम्पूर्ण दमन, उत्पीडन र विभेदका निम्ति उक्त समुदाय, वर्ग र प्रत्यक व्यक्तिहरू प्रति क्षमायाचना गर्दछ।

– नेपाललाई संसारसामु ‘गुरु-राष्ट्र’ का रुपमा स्थापित गरिनेछ।

– विवेकशील नेपाली दलले संघियता, धर्म-निरपक्षता र गणतन्त्रलाई थप मजबुत बनाउदैँ अघि बढ्नेछ।

– राष्ट्रिय हित तथा सार्वभौमिकताको रक्षा- राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय मूल नीति र राष्ट्रिय पहिचानको जगमा बलियो राष्ट्रियता निर्माण गरिनेछ।

– छिमेकीहरूसँग सम-निकटताको सम्बन्ध राख्दै सम्पूर्ण राष्ट्रहरूसँग नेपालको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्नेछ।

– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासकीय प्रणालीको वकालत गरिनेछ। राष्ट्रपतिसँगै जोडी भई निर्वाचित उपराष्ट्रपति राष्ट्रिय सभाको अध्यक्ष हुनेछन्। प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले चुनेको मन्त्रीमण्डल बन्नेछ। प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री रहनेछन्।

– उत्पादनमुखी, उद्यमशीलता तथा रोजगारीको प्रवर्धन गर्दै नागरिक सेवा केन्द्रित विकास अवधारणा अनुरूप काम गर्नेछ।

– नागरिकको आधारभूत तथा गुणस्तरीय स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र सार्वजनिक यातायात राज्यको प्रमुख दायित्व हुने, सबै नागरिकको समान पहुँच रहनेछ।

– नागरिकले समयमा नै न्याय पाउने न्याय प्रणालीको निर्माण गर्ने, न्यायमा नागरिकको समान पहुँच सुनिस्चित गरिनेछ।

– नेपालको संस्कृतिक विविधतालाई जोगाउनका निम्ति एक स्थानीय तहमा एक संग्रहालय संचालन गरिनेछ। नेपाली मौलिकताबारे शिक्षा अनि चेतनाको दायरा बढाउ नीति अख्तियार गरिनेछ।

– महिलामैत्री समाज र राज्य स्थापित गर्न महिलाको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताको सुनिश्चितता गर्नेछ। कुनै पनि प्रकारको महिला हिंसा विरुद्द शून्य सहनशिलता अवलम्बन गर्दै कडा नीति अवलम्बन गर्नेछ।

– विवेकशील नेपाली दलको विधानले कम्तिमा ५० प्रतिशत महिला पदाधिकारी सुनिश्चित गरेको छ।

– युवालाई राजनीतिको मूलधारमा ल्याउने छ। १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुनसुकै पदमा उठ्न पाउने नीतिको वकालत गर्नेछ। पार्टी विधानले १८-२१ ( एक महिला / एक पुरुष ) लाई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित गर्ने सुनिस्चित गरेकोछ।

– विवेकशील नेपाली दलले युवालाई राजनीतिको मूलधारमा ल्याउन हरसम्भव प्रयत्नशील रहनेछ। जसका निम्ति १८ वर्ष पुगेका प्रत्येक नागरिकले जुन सुकै पद ( प्रत्येक मत हाल्न योग्य नागरिक मेयर, सांसद वा राष्ट्रपति बन्नको लागी योग्य छन् भन्ने अवधारणा अनुरुप ) मा उठ्न पाउने नीतिको वकालत गर्नेछ।

– बालबालिकाको हक र हितको वकालत गर्दै बाल-अधिकारको पूर्ण प्रत्याभूति गर्नेछ।

– ज्येष्ठ-नागरिकको हक-हित र सम्मानको सुनिश्चित गर्दै राज्यले आवश्यकता अनुसार व्यवस्था गर्न वकालत गर्नेछ।

– सीमान्तकृत समुदायको हक-हितको लागी विशेष अधिकार र प्रतिनिधित्वको वकालत गर्नेछ।

– राज्यका सार्वजनिक संस्थाहरूको संस्थागत सबलीकरण गर्नेछ। सार्वजनिक संस्थाहरुमा चरम दलीयकरण पुर्ण रुपमा बन्द  गराउनेछ।

– भ्रष्टाचार विरुद्द शून्य सहनशिलता अवलम्बन गर्दै कडा नीति अवलम्बन गर्नेछ।

– उन्नत प्रगतिशील लोकतान्त्रिक वृहत् एवं साझा गठबन्धनको विवेकशील नेपालीले नेतृत्व गर्नेछ।

– विवेकशील नेपाली दल कुनै पनि प्रकारको हिंसामा संलग्न नहुने प्रतिबद्दता व्यक्त गर्दछ।

पुरा दस्ताबेज पढ्न: http://bit.ly/bnpolv1

 

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्