गौरा पर्व मनाइँदै

 

काठमाडाैं ।  गौरा पर्व सुदूरपश्चिम प्रदेशमा मनाइँदैछ । यस पर्वले सुदूरपश्चिमी भू-भाग अनि यसको माैलिक पृष्ठभूमिको ठूलो महत्व राख्दछ । भाद्र महिनाकाे यस दिन हरियाली अनि पानीका थोपाहरुसँगै मनाउने प्रचलन छ । वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरुले यस पर्वलाई सौभाग्यका रुपमा मनाउने गर्दछन् ।

नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने  छ । खस राज्यको उद्गमभूमि अनि भाषा, संस्कृती, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व भाद्रशुक्लको षष्ठीदेखि अष्टमी तिथिसम्म विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाईदै आएको पर्व हो, गौरापर्व ।

गौरा पर्वका अवसरमा सुदूरपश्चिमका वासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, ईष्ट कूलदेवता प्रसन्न हुने जनविश्वास छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजवान पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको विश्वाश छ ।

गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ‘बिरुडा’ अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रुपमा ग्रहण गर्छन् । बिरुडा भिजाएपछि दोश्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा ‘बिरुडा’ धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउँछन् ।

गौराघरमा गौरा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा-आजा गर्ने गरिन्छ । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।

विशेष नेपाली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एकअर्काका दुःख-सुख: बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठूलो पर्वको रूपमा मनाईन्छ ।

गौरा पर्वका अवसरमा राष्ट्र प्रमुखले समेत देशवासीलाई शुभकामना दिने चलन छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्