Logo

स्यानिटाइजर आफैं बनाउने एक युवक पक्राउ



महानगरीय अपराध महाशाखाको टोलीले सोमबार ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित समिट होटलको ओरालोबाट एक जनालाई पक्राउ गरेको हो।

प्रहरीले इन्टरनेट हेरेर स्यानिटाइजर बनाइरहेका एक जनालाई पक्राउ गरेको थियो।।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका-१३ घर भई ललितपुर बस्ने २३ वर्षीय दुर्गा भट्टराई छन्। प्रहरीले विशेष सूचना पाएपछि प्रहरीको टोली खटिएको हो।

उनले इन्टरनेटमा हेरेर मापदण्डविपरीत स्यानिटाइजर बनाउने गरेको महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले जानकारी दिए।

‘उसले इन्टरनेटमा स्यानिटाइजर कसरी बनाइन्छ भनेर सिकेछ। अनि केही दर्ता नै नगरी बनाउने र प्याकिङ गर्ने रहेछ,’ एसपी कोइरालाले भने।

स्यानिटाइजरमा राख्ने लेबल पनि इन्टरनेटमा हेरेर आफैं राखेको उनले बताए।

यद्यपी भट्टराईले अहिलेसम्म सो स्यानिटाइजर बजारमा नपठाइसकेको बताएका छन्।

भट्टराईले दुई-चार जना कामदार राखेर स्यानिटाइजर बनाउने गरेका थिए।

प्रहरी करिब १५ हजार लिटर तयारी अवस्थामा रहेको स्यानिटाइजर फेला पारेका छन्। उनले बनाएको स्यानिटाइजरको नमूना लिएर औषधि व्यवस्था विभागमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यस्तै, आइतबार पनि प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहोल राखेर स्यानिटाइजर बनाउने गोदाममा छापा मारेको थियो।

प्रहरीले ललितपुरबाट एक जनालाई र काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको थियो। त्यस्तै, नक्कली स्यानिटाइजरहरू सिल गरेको थियो।



प्रतिक्रिया दिनुहोस्