Logo

प्रतिवर्ष एमसीसीले दिने सहयाेग भन्दा चाैधरी ग्रुपले ज्यादा कर तिर्छ



काठमाडौँ । नेपाली व्यवसायिक घराना चौधरी ग्रुपले गत आर्थिक वर्षमा नेपाल सरकारलाई १४ अर्ब २८ करोड कर तिरेको तथ्य खुलेको छ । ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

नेपाल सरकारलाई एमसिसिले दिने भनेको वार्षिक अनुदान ११ अर्बको रकम हो । ग्रुप एक्लैले पछिल्लो चार आर्थिक वर्षमा मात्र साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।

 

चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ । ग्रुप मातहत सञ्चालित विभिन्न कम्पनीले उक्त राजस्व योगदान गरेका हुन् । ‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा हामीले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ,’ ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’

 

कोभिड महामारीले अर्थतन्त्रमा पारेका गम्भीर असरका बीच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपको भनाइ छ । चौधरी ग्रुपका अनुसार उसले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो ।



प्रतिक्रिया दिनुहोस्