
तिमिलाई जतिपटक देख्छु,
लाग्छ, म उदाउँदो घामलाइ हेर्दै छु
चेहेराको आभा हेरेर चाँदनिलाई ईर्ष्या पो
हुन्छ कि?
तिमिलाई केहि भनुँ, शब्दको अभाव छ
दुनियाँका कुनैपनी कविले लेख्न नसकेको बिम्ब,
कथाकारको चित्रणको परिधी भन्दा बाहिर,
चित्रकारका रङ्ग र रेखाहरुले बनाउन नसकेको आकृति,
संगितकारको सिर्जनामा नअटाएको धुन,
गाइनेहरुको गलाबाट निस्किन बाँकी आलाप,
म तिम्रो वर्णन गर्नै सक्दिन, प्रिय अप्सरा !!
तिमी खित्का छोडेर हाँस्दै गर्दा एक भ्रम हुन्छ,
फूलहरुले फक्रीन तिम्रा अधरसङ्ग सिकेका होलान।
लाग्छ,
तिम्रै गालाको लाली चोरेर गुराँस रातै फुलेको हो।
गुलाफका पत्रहरुमा छुटेको छ तिम्रो श्वासको केही अंश
र त मादक सुगन्ध छरिरहन सकेको छ।
यी पुतलीहरुले
तिम्रा परेलिसङ्ग चंचलता सापटी लगेको हुनुपर्छ ,
नभए यति चुलबुल कहाँ गर्थे होलान र!
चकचक गरिरहनुपर्ने,
बोलिरहनु पर्ने अर्थहीन कुराहरू,
सोधिरहनु पर्ने बेतुकका प्रश्नहरु,
अन्त्यहिन उत्सुकता र जिज्ञासाहरु
प्राप्तिको चाह नभएको तर कहिल्यै
नमेटिने मिठो तृष्णा,
थाहा छैन, तिम्रा यी गुण कि अवगुण हुन?
सागर झैँ गहिरा, शान्त आँखामा
बेलाबेला आइरहन्छ, बेचैनिको ज्वारभाटा
तर पनि उभिएकै छन सपनाका स्तम्भहरु
रहरका माछाहरु पौडिन छोडेका छैनन्,
रहस्यहरु फुलेकै देखिन्छन्, किनारहरुमा
तिम्रा नजर बाणद्वारा घायल भएका
असंख्य मुटुहरु देखेर अचम्म लाग्दैन
बरु सोच्छु, तिमिलाई नहेरी कोही कसरी
बस्न सक्छ र?
प्रिय अप्सरा!