Logo

देउवा प्रधानमन्त्री बन्न माधव नेपालको बिश्वास



नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफलपछि सभापति देउवाको निवास बुढानिलकण्ठमा मंगलबार अपरान्ह बसेको पदाधिकारी बैठकले अन्य दलको सहयोगमा नयाँ सरकार बनाउने निर्णय गरेको हो।

नयाँ सरकार बनाउन अंकगणितीय हिसावले सहज नदेखिएका बेला कांग्रेस पदाधिकारी बैठकले भने जसपाको महन्थ ठाकुर पक्ष र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको साथमा नयाँ सरकार बनाएर जान सकिने सम्भावनासहित देउवाको नेतृत्वमा सरकार गठन गर्न सम्पूर्ण हिसावले पार्टी लाग्ने निर्णय गरेको छ।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव देउवालाई प्रधानमन्त्री बनाएर अगाडि जान तयार छन् तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर भने वैकल्पिक सरकार गठन गर्ने पक्षमा छैनन्। ठाकुर पक्षका १५ सांसदले सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतका पक्ष र विपक्षमा मत नदिई तटस्थ बसेका थिए।

कांग्रेसले सरकार बनाउन भर परेको अर्को पक्ष भनेको एमालेभित्रकै हो। नेता माधवकुमार नेपाल पक्षका २८ जना सांसदले सोमबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएनन्। उनीहरू प्रतिनिधि सभामै अनुपस्थित रहेका थिए।

नेपाल पक्षले सहयोग गरेमा देउवा प्रधानमन्त्री हुन सक्ने निश्कर्षमा कांग्रेस पुगेको छ। नेपाल पक्षका सांसदहरूले राजीनामा दिए भने प्रतिनिधि सभामा सांसदको संख्या खुम्चने र देउवालाई बहुमत पुर्‍याउन सहज हुने कांग्रेसको विश्वास छ।

सोमबार प्रधानमन्त्री ओलीको विपक्षमा प्रतिनिधि सभामा १२४ मत आएको थियो। कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाको बाबुराम-उपेन्द्र पक्षका १५ जनाले ओलीको विपक्षमा मत दिएका थिए।

प्रधानमन्त्री ओलीको पक्षमा ९३ मत आएको थियो। १२१ सांसद रहेको एमालेमा नेपाल पक्षका २८ जनाले ओलीलाई मत नदिएका हुन्।

यस्तो अवस्थामा जसपा र माधव नेपाल पक्षले सहयोग गर्ने सम्भावना रहेकोले नयाँ सरकार बन्ने देखिएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत बताउँछन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी नै संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छन्। जसअनुसार कांग्रेसले दुई वा दुईभन्दा बढी दलको सहयोग र समर्थनमा नयाँ सरकार बनाउने पहल गर्न लागेको महतको भनाइ छ।

‘समग्रमा जसपा एकजुट भएर नयाँ सरकार बन्ने अभियानमा सामेल होस् भन्ने हामी चाहन्छौं,’ पदाधिकारी बैठकपछि महतले भने, ‘त्यसका लागि हाम्रो सम्पूर्ण कोसिस हुन्छ। सँगसँगै एमालेभित्र पनि असन्तुष्टि छ- माधवजीहरू त्यही असन्तुष्टीका कारण हिजो मतदानमा सहभागी हुनुभएन। उहाँहरूको सहयोग जुटाउने कोसिस हाम्रो हुनेछ।’

उनले राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय बिहीबार बेलुकी ९ बजेसम्म भएकोले राजनीतिक परिस्थिति बदलिने विश्वास पनि व्यक्त गरेका छन्।

‘जसपा पनि हाम्रो पक्षमा आउने प्रशस्त सम्भावना छ। माओवादी केन्द्र आइसकेको छ। एमालेभित्र पनि असन्तुष्टि छ,’ उनले भने, ‘तीन दल एकजुट भए बहुमत भइहाल्छ। बहुमत जुटाउने अरू उपाय पनि छन्।’

जसपामा दुई निलम्बितसहित ३४ जना सांसद छन्। कांग्रेसमा दुई निलम्बितसहित ६३ र माओवादी केन्द्रका ४८ सांसद प्रतिनिधि सभामा छन्। यस्तै राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका एकेक सांसद छन्। साथै संसदको ठूलो दल एमालेका १२१ सांसद छन्।

जसपाभित्र नयाँ सरकार बनाउनेबारे विवाद देखिएकोले देउवा प्रधानमन्त्री हुन एमाले नेता नेपाल पक्षका सांसदको भर पर्नुपरेको हो। नेता नेपाल पक्षले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गत फागुन २८ का निर्णय फिर्ता लिँदै २०७५ जेठ २ को  संरचनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने माग राखेका छन्। तर ओलीले यो माग पूरा गर्न नसकिने बताइरहेका छन्।



प्रतिक्रिया दिनुहोस्