Logo

झलनाथलाई ‘राष्ट्र गौरव पदवी’ दिदाँ नेम्वाङ रूष्टः पार्टी विभाजन गर्नेलाई सम्मान गरेकाे ठहर



काठमाडाैं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले पार्टी फुटाउने र केपी शर्मा ओली सरकारविरूद्ध मुद्दा लड्नेले मेडल पाएको बताएका छन् । संविधान दिवसकाे अवसरमा सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदवीबाट सम्मान गरेको थियाे । यो सम्मान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने मानपदवीमध्ये दोस्रो ठूलो सम्मान हो । पूर्वप्रधानमन्त्री खनालसँगै यो सम्मान मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्ण शमशेर राणालाई पनि प्रदान गरिएको छ ।

 

सम्मानका सन्दर्भमा बाेल्दै नेता नेम्वाङले व्यक्तिगत रूपमा टिप्पणी नगर्ने बताउँदै पार्टी र सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाएको जिकीर गरे । “हाम्रो पार्टीको सरकारको विरूद्धमा, केपी ओलीको सरकारको विरूद्धमा मुद्दा लगाउने साथीहरूले मेडल पाउनुभएछ । सँगसँगै परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित न्यायाधीशहरू र त्यो सरकारको विरूद्धमा मुद्दा दर्ता गर्ने मुद्दावालाहरू त्यसका पक्षहरू, उहाँहरूले मेडल पाउनुभएछ। महत्वपूर्ण मेडल।” नेता नेम्वाङले खेद पाेखे ।

 

सरकारले ९०३ जनालाई विभिन्न पदक तथा विभूषण दिन सिफारिस गरेको थियो । सरकारले संविधान दिवसको अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई विभिन्न मानपदवी र विभूषण गर्दै आएको छ । नेम्वाङले भारतमा रहेर पनि पार्टी फुटाउन भूमिका खेलेका एक जनाले पनि मेडल पाएको बताए । उपचारका लागि झलनाथ खनाल भारतमा थिए, त्यसबेला नेकपा एमाले विभाजित भएको थियो । नेम्वाङकाे कटाक्ष खनालप्रति लक्षित थियाे ।

 

नेम्वाङले खनाललाई लक्षित गर्दै उनले भारतमा रहेका एक नेता भनेका थिए । त्यसपछि उनले थपे, “एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो उहाँले मेडल पाउनुभएछ। दुई जना नेताहरू यहीँ क्रियाशील हुनुहुन्थ्यो उहाँहरूका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ ।”

 



प्रतिक्रिया दिनुहोस्